धनुषाका दिलीप महतो हत्या प्रकरणमा सरकार पुग्यो सर्वोच्च
काठमाडौँ । अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक मारिएका धनुषाका दिलीप महतो प्रकरणमा जिल्ला र उच्चको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। सरकारका तर्फबाट दुवै अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै केही दिनअघि सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्य दाहालले बताए ।
सरकारले मङ्सिर ४ गते सर्वोच्चमा निवेदन पेस गरेको थियो भने आइतबार मात्र दर्ता भएको छ । जिल्ला र उच्चले दुई जनालाई मुख्य अभियुक्त तथा एक जनालाई मतियारमा ठहर गरेको थियो । चार जनाले सफाइ पाएका थिए । क्रूरतापूर्वक भएको हत्यामा समेत केहीलाई मतियार ठहर गरेको र केहीलाई सफाइ दिएको निर्णय त्रुटिपूर्ण भएको दाबी सरकारको छ । सरकारले उनीहरू सबैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिएको छ।
अवधै क्रसर सञ्चालन गर्दै खोलाको उत्खनन गरेपछि उनले विरोध गरेका थिए । तर क्रसर सञ्चालकसहितले उनलाई क्रुररतापूर्वक हत्या गरेका थिए । सात जनाको समूहले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेपछि क्रसरमा ल्याएर गाडिएको दाबी सरकारको पुनरावेदन निवेदनमा गरिएको छ।
आक्रमणपछि बेहोस भएर ढलेका दिलीपलाई ना७ ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको थियो । त्यसरी क्रूरतापूर्वक हत्या गर्ने व्यक्तिलाई जन्मकैद हुनुपर्ने माग गरे पनि केही प्रतिवादीलाई मतियारको रूपमा १२ वर्ष मात्र कैद हुने फैसला उच्च र जिल्लाले सुनाएपछि सरकार सर्वोच्च आएको हो ।
उच्च अदालत जनकपुरले २०८० माघ २५ गते फैसला सुनाउँदै जिल्ला अदालत धनुषाकै फैसलालाई सदर गरेको थियो । मिथिला नगरपालिका–५ श्रीपुरका महतोको ४ वर्षअघि औरही खोलामा हत्या गरिएको थियो । आरोपी मध्येका दुई जनालाई मात्र जन्मकैदको फैसला अदालतले सुनाएको थियो । उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।
जिल्ला अदालत धनुषाले २०७९ फागुन १२ गते तीन जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । हत्याका मुख्य योजनाकार भनिएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनीन्द्र महतोलाई जन्मकैद ठहर गर्दै २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।
हत्याका मतियार ठहर भएका जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन जिल्ला अदालतको फैसला थियो । त्यो सजाय पर्याप्त नरहेको भन्दै दिलीपको परिवार उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाको फैसलाको फैसला बदर गर्न अस्वीकार गर्दै सदर गरेको थियो ।
२०७६ पुस २५ गते राति महतोको घर नजिकैको औरही खोलामा टिपरले किचेर हत्या गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले ७ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले क्रसर सञ्चालक विपिनका दाइ विनोद महतो, कामदार सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई सफाइ दिएको थियो ।
भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । स्थानीयस्तरमा पहिलेदेखि वातावरण संरक्षण र प्राकृतिक स्रोतको गैरकानुनी रूपमा अनियन्त्रित दोहनविरुद्ध क्रियाशील उनलाई २०७६ को पुसमा निसाना बनाइएको थियो ।