तीन वटा पाँचतारे होटलको सेवा बन्द
काठमाडौं । नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन वटा पाँचतारे होटलको सेवा बन्द भएको छ ।
पर्यटन विभागका अनुसार अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द छ । विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलका अनुसार यी होटल आन्तरिक कारणले बन्द भएका हुन् ।
यसमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि बाँकी रहेका कारण उसको कानुनी हैसियत बाँकी छ । साविकमा अन्नपूर्ण होटल रहेको स्थानमा ६ अर्ब रुपैयाँ लगानीमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरिएको छ । जसमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । यो स्थानमा २०८५ सालदेखि नयाँ होटल सञ्चालनको योजना छ ।
फूलबारी र साङ्ग्रिला बन्द भएका कारण यी होटलले पाँचतारेको हैसियतमा कानुनी मान्यता नपाउने उनले जानकारी दिए । कोभिड महामारीको संकटयता आतिथ्य सेवा प्रभावित भयो । त्यसपछि उठ्न नसकेका कतिपय होटलहरूले अझै सेवा सुरु गर्न सकेका छैनन् ।
उता सञ्चालनमा रहेका मध्ये पनि तीन पाँचतारे होटलको इजाजत नवीकरण नभएको विभागले जानकारी दिएको छ । विभागका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल, दरवारमार्गस्थित याक एन्ड यति र लाजिम्पाटस्थित र्याडिसन होटल ९ओरियन्टल० ले इजाजत नवीकरण गरेका छैनन् । होटलहरू कुनै सरकारी निकायमा दर्ता भएपछि सञ्चालनमा आउन पाउँछन् ।
तर, पर्यटन विभागबाट स्तर वर्गीकरणको इजाजत नलिएसम्म उनीहरूको स्तरले कानुनी मान्यता पाउँदैन । एभरेस्टसहित तीन होटल सोही अनुसार चलिरहेको निर्देशक भुजेलले जानकारी दिए । सेवा बन्द भएको र इजाजत नवीकरण नभएका होटलले कानुनी रूपमा पाँचतारे मान्यता नपाउँदा अहिले देशभर मान्यताप्राप्त पाँचतारे होटलको संख्या १७ मात्र हुन आउँछ ।
नवीकरण नभएका होटलहरूमा यसअघि क्यासिनोको बक्यौता भुक्तानीको इस्यु रहेको छ । होटलको इजाजत हरेक ५र५ वर्षमा नवीकरण गर्नुपर्छ । सरकारले नवीकरणका दौरान बक्यौता फरफारक अनिवार्य गरेसँगै होटलहरूको नवीकरण रोकिएको छ ।
पर्यटन विभागका अनुसार दरवारमार्गस्थित याक एन्ड यति होटल ६ चैत २०६० मा पाँचतारे होटलका रूपमा स्तर वर्गीकरणमा परेको हो । होटल एभरेस्ट २२ माघ २०४२ मा पाँचतारे होटलका रूपमा स्तर वर्गीकरणमा परेको थियो । होटल द फूलबारीले भने १९ कात्तिक २०५६ मा पाँचतारे स्तरको मान्यता पाएको थियो । होटल डेला अन्नपूर्णले २०२९ सालमै पाँचतारे होटलको मान्यता पाएको थियो । साङ्ग्रिला होटलले भने २०७२ सालमा पाँचतारे मान्यता पाएको थियो । र्याडिसन होटलले २०५६ सालमा पाँचतारे मान्यता पाएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागले पछिल्लो समय पाँचतारे भन्दा माथिल्लो स्तरमा समेत होटलको वर्गीकरण गर्ने गर्छ । सोही अनुसार ताहाचलस्थित सोल्टी होटललाई भने पाँचतारा डिलक्सको स्तरमा वर्गीकरण गरिएको उनले जानकारी दिए । झापाको होटल मेची क्राउन समेत यसै स्तरमा रहेको छ ।
विभागले हेरिटेज बुटिकका रूपमा समेत होटलहरूलाई छुट्टै वर्गीकरणमा राख्न थालेको छ । जसमा द्वारिकाज काठमाडौंदेखि बसेरा बुटिक होटलसम्म रहेका छन् । यस्ता होटललाई लक्जरी, डिलक्स र हेरिटेज भनी छुट्टै वर्गीकरण गरिन्छ ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा कान्छो पाँचतारे होटल बूढानीलकण्ठस्थित होटल फरेस्ट इन लिमिटेड हो । यो होटल २३ असोज २०८१ मा मात्र पाँचतारे होटलका रूपमा वर्गीकरणमा परेको हो । दोस्रो कान्छो पाँचतारे होटल बूढानीलकण्ठस्थित बूढानीलकण्ठ हेरिटेज लि लेमन ट्री प्रिमियर हो । यो होटलले १८ जेठ २०८१ मा पाँचतारे मान्यता पाएको हो ।