आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यति बेला (आइतबार बिहान) कोसी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले तराई भूभाग तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।
आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।
राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोसी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बागमती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।