

पत्रकार महासङ्घको आसन्न निर्वाचन :जन्मियो नयाँ मोर्चा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका आसन्न निर्वाचनको लागि पत्रकारका सङ्गठनहरूबिच साझेदारीको पहल भइरहेको बेला नयाँ मोर्चा प्रकट भएको छ ।
पत्रकारिता सम्बद्ध सातवटा सङ्घसंस्थाको भेलाले बिहीबार महासङ्घको यही २०८१ मङ्सिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील पत्रकारहरूको साझा मोर्चा बनाई मोर्चाको धारणा समेत सार्वजनिक गरिएको छ ।
भेलापछि श्रमजीवी–पत्रकार सङ्घ, नेपाल, प्रेस नेपाल, मिडिया नेपाल, लोकतान्त्रिक पत्रकार मञ्च, कायस्थ पत्रकार समाज, प्रगतिशील पत्रकार मञ्च र सञ्चार क्षेत्र सुधार अभियान्ताले जारी गरेको संयुक्त वक्तव्यमा महासङ्घको निर्वाचनमा सहभागी हुने तीन वटै तहका पदमा मोर्चा सम्बद्ध घटक सङ्गठनहरूले उम्मेदवारी दिने निर्णय गरिएको उल्लेख छ ।
मोर्चाले महासङ्घको घोषित निर्वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा र तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने धारणा पनि अगाडि सारेको छ । मोर्चाले महासङ्घको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र श्रमजीवी पत्रकारहरूको अधिकार र मुद्दाहरूको प्रतिनिधित्व गर्ने अवसरका रूपमा उपयोग गर्न सबै पक्षलाई आह्वान पनि गरेको छ ।

