परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले माग्यो सुझाव
काठमाडौँ । परीक्षा प्रणालीमा सुधारबारे अध्ययन गर्न गठित उच्चस्तरीय कार्यदलले सुझाव माग गरेको छ । कार्यदलले दिने सुझावलाई अझ व्यवहारिक र कार्यमूलक बनाउन सरोकारवालासँग १५ दिनभित्र सुझाव दिन भनेको हो ।
सरोकारवालाहरूबाट प्राप्त हुने सुझाव अत्यन्त महत्त्वपूर्ण हुने र विज्ञता राज्यका लागि ठुलो योगदानसमेत हुने कार्यदलले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै कात्तिक २० गते पूर्व सचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेकी थिइन् । राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्ट्रेशन शुल्क, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट लिने गरेको विभिन्न शुल्क एवम् सेवा सञ्चालनका लागि आवश्यक स्रोत सुनिश्चितता, मौजुदा परीक्षा पद्धतिमा गर्नुपर्ने सुधार, विद्यमान परीक्षाको आवश्यकता र औचित्य लगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको सङ्गठन संरचना तथा कर्मचारी समायोजन र व्यवस्थापन, हाल अभ्यासमा रहेका कक्षा १० र कक्षा १२ एवम् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का छुट्टाछुट्टै परीक्षा नियन्त्रण कार्यालयलाई एकीकृत गरी विद्यमान परीक्षा पद्धतिलाई अझ व्यवस्थित र वैज्ञानिक ढङ्गले सेवा प्रवाह गर्न आवश्यक सुधार एवम् नीतिगत, कानुनी र व्यवस्थापकीय कार्यक्षेत्रहरूका विषयमा राय सुझावसहितको प्रतिवेदन पेस गर्ने समेत कार्यादेश छ ।