कीर्तिपुरनगरपालिकाको मतगणना: सात वडाको सकियो, तीन वडाको गन्न बाँकी
काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।
१० वटा वडा रहेको नगरपालिकामा सात वटा वडा १ देखि ७ नम्बर वडाको मतगणना भइसकेको छ । अब तीन वटा ८, ९ र १० वडाको मात्र मत गन्न बाँकी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार सम्भवतः आजै राति १० देखि ११ बजेसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने छ ।
‘अहिले वडा नम्बर ८ को मतगणना भइरहेको छ । जनशक्ति थपेर तीन टोलीले मतगणना गरिरहेकोले सम्भवतः राति १० देखि ११ बजेसम्ममा अन्तिम नतिजा आइसक्ने छ,’ उनले भनिन् ।
पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन् । एमाले उम्मेदवार डा। सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।
निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।