कोसी प्रदेशसभा सदस्य विनोद वान्तवाको नेतृत्वमा पौवादुङमा गाउँपालिकाको निर्माणधीन स्वास्थ्य चौकी भवनको अनुगमन
भोजपुर । पौवादुङमा गाउँपालिका ३ स्थित च्याङ्ग्रे स्वास्थ्य चौकीको निर्माणधीन भवनको अनुगमन कोसी प्रदेशसभा सदस्य माननीय विनोद वान्तवा ज्यूको नेतृत्वमा सम्पन्न भएको छ।
अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष जोत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, पालिका कर्मचारी तथा स्थानीय बासिन्दा उपस्थित थिए। अनुगमनका क्रममा निर्माण कार्यको प्रगति र योजनाबद्ध क्रियावलीबारे विस्तृत जानकारी लिएको थियो । यस स्वास्थ्य चौकीको संचालनले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा सहजता ल्याउने अपेक्षा गरिएको छ।
माननीय वान्तवाले अनुगमनको क्रममा गुणस्तरीय निर्माण कार्यमा ध्यान दिनुपर्ने र समयमै परियोजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो। पालिका अध्यक्ष राईले स्वास्थ्य चौकी निर्माणलाई स्थानीय समुदायको लागि दीर्घकालीन फाइदा पुर्याउने बताएका छन्। अध्यक्ष राईले , पालिकामा निर्माण भईरहेको कार्यमा आवश्यक स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भयो ।
अनुगमनको क्रममा स्थानीय बासिन्दाले स्वास्थ्य चौकीको शीघ्र निर्माण र उच्चस्तरीय सेवा उपलब्ध गराउने माग गरेका थिए। अनुगमन टोलीले स्थानीय बासिन्दाको चासो सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो भवन निर्माण कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवामा अझ सजिलो पहुँच पाउने विश्वास व्यक्त गरिएको छ।