श्री शारदा माध्यमिक विद्यालय प्याउलीले आफ्नो ७३ औं वार्षिकोत्सव सफलतापूर्वक समापन
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका ०३ प्याउलीमा अवस्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नो ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको सफलतापूर्वक समापन गरेको छ। चार दिनसम्म चलेको यस उत्सवमा विविध खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू संचालन गरिएको थियो ।
यस अवसरमा विद्यालयले बाल कक्षा देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको लागि विविध कार्यक्रमहरूको आयोजना गरेको थियो। बाल कक्षा, कक्षा १ देखि ३ का लागि तातो आलु र भित्र बाहिर खेल, कक्षा ४ र ५ का विद्यार्थीहरूको लागि नृत्य, चम्चा दौड, म्युजिकल चेयर, स्मरण खेल र भाले जुधाईका कार्यक्रम थिए। त्यस्तै कक्षा ६ देखि ८ का विद्यार्थीहरूको लागि नृत्य, लङ्गजम्प र फुटबल खेलको व्यवस्था गरिएको थियो। त्यसैगरी कक्षा ९ देखि १२ का लागि फुटबल, भलिबल, छेलो हान्ने खेल, लङ्गजम्प र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो।
मुख्य समारोह र अतिथिहरूको उपस्थिति
बि.स. २००८ साल मंसिर १५ गते स्थापना भएको यस विद्यालयको वार्षिकोत्सवको अन्तिम दिन मूल समारोह सहित सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख समारोहको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल सरकारका अर्थ मन्त्रालयका राजस्व सचिव श्री दिनेश कुमार घिमिरे, विशेष अतिथिमा अरुण गाउँपालिका अध्यक्ष श्री शालिकराम खत्री, अर्थ मन्त्रालयका सहसचिव श्री उत्तर कुमार खत्री र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित सहभागी भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विद्यालयका चन्दा दाता, गुठिदाता र जग्गादाताको सहयोगमा प्रगतिको शिखर चुम्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयको प्रगतिमा नेपाल सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समेत जनाउनुभयो ।
विशेष अतिथि गाउँपालिकाका अध्यक्ष खत्रीले विद्यालयलाई नमुना विद्यालय बनाउने दायित्व सबैको भएको भन्दै, स्थानीय तहले यो प्रयासमा सहयोग गर्ने बताउनुभयो।
भावी योजना र प्रतिबद्धता
विद्यालयका प्रधानाध्यापक श्री श्यामसुन्दर साहले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रस्ट पार्नुभयो। विशेष अतिथि श्री उत्तर कुमार खत्रीले बालबालिकाहरूलाई लगनशील भएर अध्ययन गर्न प्रोत्साहित गर्दै विद्यालयको विकासका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन सन्तोष खड्का र गुणराज खनालले गर्नुभएको थियो भने प्राविधिक संयोजन शिक्षक दीपक अधिकारीले गर्नुभएको थियो। यस वार्षिक उत्सवले विद्यालयको इतिहासमा अर्को महत्त्वपूर्ण पन्ना थपेको छ र यसले विद्यालयलाई शैक्षिक र सांस्कृतिक क्षेत्रमा अझ मजबुत बनाउने विश्वास जगाएको छ।
श्री शारदा माध्यमिक विद्यालयको यस ७३ औं वार्षिकोत्सवले विद्यालयलाई थप प्रगतिशील बनाउन सबै पक्षलाई उत्साहित गराएको छ।
फोटो फिचरहरु हेर्नुहोस :