चार बुँदे सहमतिपछि खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो
काठमाडौं । नेपाल खुला विश्वविधालय कार्यकारी परिषद् र शिक्षक– कर्मचारी संघर्ष समितिबीच चार बुँदे सहमति भएको विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ ।
बिहीबार दुईपक्षबीच चार बुँदे सहमति भएको संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए । ‘स्थायी नियुक्ति गर्ने प्रक्रिया तत्काल थालनी गर्ने सहमति भएको छ,’ संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले भने ।
विश्वविद्यालयका शिक्षक कर्मचारीको श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनले बताए । ‘सहमतिपछि ताला खोलेका छौं,’ उनले भने ।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको थिएन ।
सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको उपप्राध्यापक भोजराज घिमिरेले बताए ।