बक्स अफिस ‘ह्याट्रिक’पछि ‘डोरी’ छायांकनमा अञ्जना बराइली
काठमाडौं । अभिनेत्री अञ्जना बराइली यतिबेला लगातार हिट फिल्मको सफलतामा सवार छिन् । ‘महापुरुष’, ‘पुजार सार्की’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ले उनको करिअरलाई शिखरमा पुर्याएको छ ।
चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएकी अञ्जना पछिल्लो समय रुचाइएकी छिन् । ‘पूर्णबहादुरको सारङ्गी’मा उनले निर्वाह गरेको चरित्र बाटुली सशक्त चरित्र चित्रण हो, जसले छोराको भविष्यका लागि श्रीमानसँग लडाइँ लड्छिन् ।
उनै अञ्जनाले आइतबारदेखि आगामी फिल्म ‘डोरी’को छायांकन गर्ने तय भएको छ । बिहीबार ललितपुरमा फिल्मको शुभसाइत गरिएको छ । फिल्ममा अञ्जनासहित प्रवीण खतिवडा, शिशिर बाङ्देल, राज पौडेल, वीरेन्द्रसिंह कुशवाहा, विशाल राई, मिलन राई, कविता आले लगायतको अभिनय छ ।
फिल्मलाई अरुण लामाले निर्देशन गर्दैछन् । निर्देशक थापाले फिल्मले सम्बन्धको कथा पेश गर्ने बताए । ‘फिल्मले डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्र आ–आफ्ना तरिकाले बाँधिएका छन्’ थापाले भने ।
फिल्मले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई पेश गर्नेछ । अञ्जनाले पनि नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । उनी भन्छिन्, ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैं रमाइलो लाग्छ । यसमा नयाँ आइडिया छ । यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ । मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु ।’
अभिनेता प्रवीण खतिवडाले फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद र सस्पेन्स क्राइम’को संयोजन रहेको बताए । मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन् ।
राजनराज सिवाकोटी संगीतकार, सौरभ लामा छायांकार र एक्सन निर्देशन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’को प्रदर्शन सन् २०२५ मा हुने लक्ष्य राखिएको छ ।