रास्वपाका सभापति लामिछानेलाई काठमाडौँ ल्याउन अलमल
काठमाडौँ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन ।
मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्राविधिक कारणले उनलाई मंगलबार ल्याउन नसकिएको प्रहरी कार्यालयले जनाएको छ ।
ती अधिकृत भन्छन्, ‘उहाँलाई काठमाडौँ ल्याउन थप समय लाग्ने देखिएको छ ।’
रवि लामिछाने निकट रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा लेखेका छन्,‘कास्की प्रहरीले रविलाई भोलि साँझ वा पर्सी बिहान बिहीबार मात्र काठमाडौँ पठाउने भएको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे बुधबारका लागि बिदामा बसेका छन् । उनलाई बिहीबार साँझसम्ममा काठमाडौँ ल्याउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।