

काठमाडौंको वायू प्रदूषण

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको आकास धुम्मिएको छ ।
आकास धुम्म हुनुको कारण वायूप्रदूषण हो । वायुमण्डलमा धुलोका कणले गर्दा पारदर्शिता कम देखिएको थियो । अहिले भने घाम लागेकाले पारदर्शिता पनि बढ्दै गएको छ ।
आज बिहान काठमाडौंका स्वयम्भु, कीर्तिपुर, रत्नपार्क, खुमलटार लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवालो लागेको थियो । तराई मधेशका केही जिल्लामा कुहिरो लागेको थियो । कुहिरोमा पानीको मात्रा सापेक्षित आद्रता बढी हुन्छ भने तुवालोमा पानीको मात्रा कम हुने भएकाले सुक्खा हुन्छ ।
हिउँदमा पानी कम पर्ने र हावा पनि नचल्ने भएकाले वायु प्रदूषणको मात्रा बढ्ने गर्दछ । वायुमण्डलमा भएका धुलो र धुँवाका कण हटाउन कि ठूलो पानी पर्नुपर्छ कि बेस्सरी हावा चल्नुपर्छ । तर अहिले ती दुवैको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्याल बताउँछन् ।
‘अहिले तत्काल पानी पर्ने सम्भावना छैन,’ वरिष्ठ मौसमविद अर्यालले भने, ‘कोशी, बागमती र गण्डकीमा हल्का बादल लागे पनि पानी नै पर्ने सम्भावना कम छ ।’
काठमाडौं उपत्यका कचौरा आकारको छ । त्यसैले प्रदूषित वायु हत्तपत्त उडेर जाँदैन । पानी नपरेसम्म वायुमण्डल पनि पखालिँदैन । त्यसैले अहिले धुम्म परेको अवस्था अन्त्यका लागि पानी पर्नु जरुरी रहेको मौसमविद अर्याल बताउँछन् ।
आगलागीका घटना बढ्दा प्रदूषण पनि बढ्यो
पछिल्लो समय देशका अधिकांश स्थानमा तुवालो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
आगलागीका घटना, उद्योग र सवारी साधनबाट निस्किने धुवाँ, निर्माणका काम गर्ने बेला उड्ने धुलो वायुप्रदूषणका प्रमुख कारण हुन् । केही दिनयता आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा मंसिर १ गतेदेखि १० गतेसम्मको अवधिमा आगलागीका घटना बढेको पाइएको छ । मंसिर ९ गते मात्रै विपदजन्य घटना १४ वटा हुँदा १३ वटा आगलागीका घटना थिए ।
‘हावाहुरी चल्ने मौसममा वायुमण्डलमा भएको प्रदूषण उडाएर लैजान्छ र पानी पर्यो भने वायुमण्डलमा भएका धुलोका कण पखालिन्छ’, वरिष्ठ मौसमविद् अर्यालले भने, ‘तर अहिले ती दुवै अवस्था हुने देखिँदैन ।’
वातावरण विभागले मापन गर्ने एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० विवरण अनुसार ललितपुरको खुमलटार, भक्तपुर, चितवनको भरतपुर, काठमाडौंको रत्नपार्क क्रमशः बढी प्रदूषित छन् । संवेदनशील समुदायका लागि जोखिम हुने संकेत स्वरुप ती स्थानलाई रातो रंगले संकेत गरिएको छ । यसैगरी बाँकेको नेपालगञ्ज, धनकुटा र काठमाडौंको शंखपार्कको हावा पनि प्रदूषित छ ।
२०७७ सालमा काठमाडौं विश्वमै सबैभन्दा बढी प्रदूषित शहर भएको थियो । त्यतिबेला एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० ४०० नाघेको थियो । मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको कार्ययोजनामा एक्यूआई ३०० नाघेपछि विपदकाल घोषणा गर्ने उल्लेख छ । तर सरकारले विपदकाल घोषणा भने गरेको थिएन ।
काठमाडौंमा बढ्दो शहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ । प्रदूषणको शिकार भएकाहरूले क्षतिपूर्ति पाउने संवैधानिक व्यवस्था भए पनि सरकारले प्रदूषण रोक्ने सवालमा र क्षतिपूर्ति दिने सवालमा प्रभावकारी काम गर्न भने सकेको छैन ।
प्रदूषण बढ्दा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् । त्यसैले मोर्निङवाकमा ननिस्किने, घरबाट बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र शरीर पूरै छोपिने गरी कपडा लगाउनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

