

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ऋण लिनु हुँदैन :सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन् ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताए । ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले आज चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग आयोजना गरेको छलफलमा देउवा सहभागी थिएनन् । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधाम गएका थिए ।

