बोटबाटै सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित
काठमाडौं । म्याग्दीमा टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।
सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।
गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।
प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए ।