बालेनको पत्र एमालेद्वारा बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।
एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसिरहेको छ ।