राजधानी सहित देशका ३ जिल्लामा ५ जनाको शव फेला
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा ३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् ।
फेला पर्नेमा काठमाडौं, गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई, काठमाडौं, टोखा नगरपालिका १० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई सोही पसलको सटर अगाडि र काठमाडौं, दक्षिणकाली नगरपालिका ६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सिन्धुपाल्चोको सुनकोशी गाउँपालिकामा पनि एक पुरुषको शव फेला परेको छ । फेला पर्नेमा सुनकोशी गाउँपालिका ५, रतनकोट बस्ने ७० वर्षीय टीकाबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । उनको शव त्रिपुरासुन्दरी गाउँपालिका(३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा फेला परेको थियो ।
त्यस्तै दाङ, घोराहीमा पनि एकजनाको शव फेला परेको छ । घोराही उपमहानगरपालिका १२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्धिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शव फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
भेटिएका शवबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।