

प्रधानमन्त्री ओलीले : घुसको कथा सुनाउँदै भने– विमानस्थलमा ब्याग हराउँछन्, खोलिन्छन्, सिधै पैसा मागिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मातहत निकायका कर्मचारीप्रति कडा टिप्पणी गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा मातहत निकायको तीन महिने कार्यप्रगति समीक्षाका क्रममा उनले विभिन्न निकायमा खुलेआम घुस चलिरहेको र त्यो नियमजस्तै बनिरहेको बताए। आफ्ना सल्लाहकार तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूलाई सामुन्नेमा राखेर उनले घुसको कथा सुनाउँदै भनेका छन्, ‘अनि सुशासन कहाँबाट आउँछ । सुधारका लागि भइरहेका बैठक बैठकमै सीमित भएका र बैठक नै अर्कोपटकको उपलब्धिमा राख्ने गरिएको उनको भनाइ थियो।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू तथा मातहत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आज यहाँ बसेपछि भोलि के फरक पर्छ भन्दा केही पनि फरक पर्ने देख्दिनँ। केही पनि फरक पर्दैन । एमड्याक ९राष्ट्रिय विकास समस्या समान समितिको एउटा बैठक बस्यो, कार्यप्रगति भयो। एउटा बैठक गरियो नि त। थप उपलब्धि त्यही भयो। ठूलो उपलब्धि।’
कर्मचारीसँग व्यापारी एवं सेवाग्राहीले बेहोरिरहेको हैरानीबारे प्रत्यक्षदर्शीजस्तै गरी प्रधानमन्त्रीले यसरी बयान गरे, ‘व्यापारी बानी परिसकेको छ। यदि बानी नपरेको रहेनछ भने त्यसको थुतुनो मजाले डढ्छ। त्यसका ट्रक पारिपट्टि बस्छन्। अथवा अनलोड हुन्छन्। अनेक समस्या हुन्छ। तत्काल ५० हजार क्षति पुग्छ भने त्योभन्दा १० हजार खुसुक्क पारिदिएर कोटको भित्री खल्तीमा हात हाल्दै० हिँड्नु सजिलो हुन्छ। अनि सुशासन कहाँबाट आउँछ ।
उनले कतै पनि सुध्रिने र सुधार्ने प्रवृत्ति नदेखिएको भन्दै भन्सारको प्रसंग झिकेर भने, ‘भरेदेखि भन्सारमा के फरक पर्छ या भोलिदेखि भन्सारमा के फरक पर्छ त, हामी यहाँ बसिसकेपछिरु भन्सारमा त कर्मचारीहरूले खाएको खायै छन्। गेटपालेहरूको भाग यति, फलानाको भाग यति, ढोका खोल्नेको यति, चिट टाँसिदिनेको यति भन्ने त कानुनबमोजिमजस्तो भएको छ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश दिएका हुन्।
प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरूपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।
‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नूस्। बैठकहरूको औचित्य सिद्ध गर्नूस्। अर्को बैठकमा आउँदा यो(यो परिवर्तन भयो भन्ने लिएर आउनूस्। सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ।’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ।
हाम्रो स्रोतसाधन जति छ, तिनीहरूको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ। सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ।’

