

मोरङमा मोटरसाइकल एकापसमा ठक्कर हुँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । मोरङको उर्लाबारीमा बिहीबार अपराह्न दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर अपराह्न ४ः४५ बजेतिर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको चिमरियाले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका धिमाललाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । कानेपोखरी–४ का अन्दाजी २५ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएका छन् ।
उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

