

कोशी प्रदेशमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
विभिन्न संस्थासँगको सहकार्यमा पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने सम्मेलन गर्ने भएको हो । पूर्वाञ्चल विश्वविद्यालयको कला,कानुन,शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमै पहिलो पटक प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक सम्मेलन हुन लागेको जानकारी बिहीबार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । संकायका डिन प्रा।डा। अनिलकुमार पोखरेलका अनुसार सम्मेलन आगामी मङ्सिर २१ र २२ गते हुने छ ।
नेपालसहित अमेरिका, मलेसिया, भारत बङ्गलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने सम्मेलनको तयारी सुरु गरिएको जानकारी उनले दिए ।
प्रा.डा पोखरेलका अनुसार बाल विकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने सम्मेलनको मुख्य उद्देश्य हो ।
सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरूको हेरचाह, बाल विकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई पारेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आआफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने बताइएको छ ।
सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिबाट ‘की नोट’ तथा विविध प्रकारका कार्यशालामा बालबालिकाहरूका सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस हुने प्रा.डा.पोखरेलले बताए ।
त्यहाँ प्रस्तुत हुने कार्यपत्र एवं कार्यशालाबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत रहने गरी ईसीडी सम्बन्धी अध्ययन-अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
यसले बाल विकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरूप कार्यक्रमहरू थप गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सम्मेलनका लागि विश्वविद्यालयले काठमाडौँ र विराटनगर महानगरपालिका, नबिल बैङ्क, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायतका विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गरेको छ ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गराउने तयारी छ ।

