राजेन्द्र लिङ्देनको प्रश्न:प्रधानमन्त्री ओलीले कति वर्ष चलाउन पाए भने देश बन्ला
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकार चलाइरहेका दल र नेताहरुबाट देश विकास हुन नसक्ने बताएका छन् ।
बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा उनले अहिले सरकारमा र विपक्षमा रहेका दलहरुबाट देश विकास हुन्छ भन्ने विश्वास नभएको बताए ।
‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त , शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला वा प्रचण्डलाई फेरि फर्काइदिए बन्छ होला’, लिङ्देनले प्रश्न गरे ।
कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुमा पनि देश बनाउन सक्ने अनुहार नदेखिएको उनले बताए । ‘कांग्रेस, एमाले र माओवादीको परपरसम्म हेर्नुस्, यीनीहरुका कुन चाहिँ मान्छेलाई प्रधानमन्त्री बनायो भने यो देश बन्छ होला रु’, उनले प्रश्न गरे ।
अध्यक्ष लिङ्देनले केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्ने गरेको बताए । अहिले नै सरकारको ऋण २५ खर्ब नाघेको भन्दै उनले एक जना नेपालीको भागमा झण्डै एक लाख पुग्न लागेको बताए ।
‘केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्छ, उनलाई केही गरेर देखाउनुपर्ने हुन्छ, अनि ऋण लिऔं न त भन्छन्, अहिले यो सरकार आएपछि २ खर्ब ऋण लिइसके’, उनले भने ।