नेपालले टस जितेर कर्नाटकविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक य १९ टोलीसँगविरुद्ध ब्याटिङ गर्दैछ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । यो चौथो खेल हो । यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २-१ को अग्रता बनाएर खेलिरहेको छ ।
आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ । अन्तिम खेल बिहीबार हुनेछ ।
आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ । एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुँदै छ ।
त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेर अभ्यास सुरु गरिएको हो ।