धनकुटा र भोजपुर जिल्लामा प्रहरीद्वारा अवैध गाँजाका बोट नष्ट
काठमाडौं । कोशी प्रदेशका धनकुटा र भोजपुर जिल्लामा प्रहरीद्वारा अवैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफैं उम्रिएका गाँजाका बोट नष्ट गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत यो कार्य गरिएको हो।
धनकुटा
इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, त्रिवेणी चौकी र आँखीसल्लाबाट परिचालित टोलीले शहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा ३८।५ रोपनी जमिनमा फैलिएका ३०,१०० गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको छ।
भोजपुर
इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानहरूमा २२ रोपनी जमिनमा फैलिएका १६,५०० गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको छ।
यो अभियानले गाँजा खेती तथा यसको अवैध कारोबारविरुद्ध कडा सन्देश दिएको छ। प्रहरीको यो कदमले गाँजाको उत्पादन र अवैध प्रयोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।