रास्वपा सभापति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन् ।
रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन् ।
निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
लामिछानेसँग २३ घन्टा बयान लिएर पोखरा ल्याइएको छ । सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र त्यो पछि गोर्खा मिडियाकै नाममा मिलान गराइएको प्रतिवेदनमा छ । सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ ।