दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ :उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वाराआज आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गरे ।
बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको छ भने ।
‘प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउँछ’ उनले भने । अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सरकार विधिको शासनको पक्षधर हो स्पष्ट पारे ।
बङ्गलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।