प्रेस काउन्सिलको निगरानीमा सामाजिक सञ्जाल
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल युट्युब र फेसबुकमा राखिएका समाचार सामग्रीमाथि निगरानी सुरु गरेको छ ।
सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन भन्दै काउन्सिलले कार्यविधि निर्माण गरेर निगरानी थालेको हो । मिडियाको नियामक निकाय काउन्सिलले आम सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका युट्युब च्यानल तथा फेसबुक पेजमा सञ्चालकको नाम, ठेगाना प्रस्ट राख्न र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपिल गरेको छ ।
काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टीभीसहित सामाजिक सञ्जालका पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन बेग्लै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।
मिडियाका युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आए वा स्वअनुगमनबाट देखिए पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अन्धविश्वासलाई प्रश्रय दिने, अश्लील सामग्री, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिए अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गर्ने गरिएको छ ।
सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योलसमेत सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समाधानका लागि राज्यका निकायहरूसँग समन्वय र सहजीकरण गरिरहेको पनि काउन्सिलले जनाएको छ । ‘कुनै सूचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्छ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चारमाध्यम एवम् सम्बद्ध सामाजिक सञ्जालको हुन्छ,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने, ‘आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रम आफैं हट्दै जानेछन् ।’
प्रचलित कानुनअनुसार दर्ता भई स्थापित सञ्चारमाध्यमप्रति कतिपय सामाजिक सञ्जाल युट्युब र फेसबुक पेज बाट वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको विशेष अनुगमनमा पाइएको काउन्सिलले जनाएको छ ।
मिडियाको आवरणमा रहेका पेजमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभए वा विज्ञापन दिन अस्वीकार गरे त्यस संस्था, कम्पनी एवम् व्यक्तिका बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोप लगाई मिथ्या सूचना प्रकाशन र प्रसारण गरेको गुनासो प्राप्त भइरहेको काउन्सिलले जनाएको छ । ‘यस्ता गतिविधि तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सत्य, तथ्य एवम् सन्तुलित सूचना प्रवाह गर्न सके मात्र सामाजिक सञ्जालप्रति जनविश्वास बढ्ने प्रेस काउन्सिलको धारणा छ ।
सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।