कांग्रेसका उपसभापति गुरुङको ‘बयान कागज’ डिभोर्स किर्ते गरेको होइन
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्नीसँगको डिभोर्सबारे पनि प्रष्टीकरण दिएका छन् ।
मितेरी सहकारी ठगीबारे उनको संलग्ता रहेको र सम्बन्ध विच्छेद नै किर्ते गरेको बारे प्रश्न उठिरहेको बारे उनले भनेका छन्,‘ मैले कानुनी रूपमा डिभोर्स पनि गरेको हुँ । किर्ते गरेको होइन ।’
गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जनाएका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतबाट छोरा विदेश पठाउने बेलामा १२ लाख रुपैयाँ ऋण लिएको उनले बताएका छन् । साधारण सदस्यको रूपमा ऋण लिएको उनले बताएका छन् । तर, डिभोर्सका बेला घर धितो राखेर लिएको ऋण तिर्ने र अरू दाबी नगर्ने सर्तमा पत्नीसँग छुट्टिएको उनले बताएका छन् । बयान कागज गर्दा उनले भनेका छन्, ‘त्यसैले मेरो भागमा परेको ८४ लाख रुपैयाँ तिरेँ, त्यसबाहेक सहकारीबाट ल्याएर अपचलन गरेको छैन ।’
मितेरी सहरकारीको सञ्चालक समेत रहकी उनकी पूर्वपत्नी ज्योति फरार भएकोबारे धनराजले भनेका छन्, ‘मैले पनि कहाँ छिन् भनेर बुझ्दा अमेरिकातिर भनेको सुनेको हुँ ।’
आफूले सम्बन्ध विच्छेद गर्न नचाहेपनि एक महिना माइतीमा बसेको बेला एक्कासी अदालतबाट पूर्जी आएको र सम्बन्ध विच्छेद गरेको उनले बताएका छन् ।