रास्वपा सभापति लामिछानेसँग लिखित बयान सुरु
काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मंगलबार साँझ पौने ६ बजेसम्म २० भन्दा बढी प्रश्न सोध्दा अधिकांश प्रश्नमा लामिछानेले इन्कारी बयान दिएका थिए । बयानमा लामिछानेले आफूले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको इन्कार गरेका थिए । उनले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका थिए ।
लामिछानेले आफू सुप्रिम सहकारीको सदस्य र ऋणी नभएको जिकिर गर्दै सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका थिए । उनले बयानका क्रममा सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेसँगको बयानमा सुप्रिम सहकारीको मुद्दा रहेको इलाका प्रहरी कार्यालय बुटवलका अधिकृतहरू बसेका छन् ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।
संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
रुपन्देही जिल्ला अदालतले कार्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । लामिछानेको बयानमा भइरहदा सुप्रिम सहकारी पीडितहरुले समेत जिल्ला सरकारी वकील कार्यालय नजिक प्रदर्शन गरेका छन् ।
उनीहरुले पनि आफ्नो वचत फिर्ता मुख्य माग रहेको पीडित चिना थापाले बताइन् ।