रुपन्देहीमा रविको बयान सकिएन, भोलि पनि लिइने
काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ ।
मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुन्छ’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘बयानपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयमा सहजरुपमा लिएर राखेका छौं ।’
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो । बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भनेका छन् ।
विहानै भैरहवा ल्याउने र १० बजेबाट वयान हुने तयारी भएपनि मौसम खराबीका कारण उडान हुन नसक्दा दिउँसो पौने १ बजे उनलाई सरकारी वकिल कार्यालय पुर्याइएको थियो ।