देवरले गरे भाउजूमाथि खुकुरी प्रहार
काठमाडौं । मोरङको कानेपोखरीमा एक जना व्यक्तिले आफ्नै भाउजूमाथि खुकुरी प्रहार गरेका छन् ।
शनिबार राति कानेपोखरी गाउँपालिका–४ बयरवनका वसन्त सार्कीले खुकुरी प्रहार गर्दा भाउजू ५५ वर्षीया शिवा श्रेष्ठ सार्की गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
गम्भीर अवस्थाकी उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरयासी विवादका क्रममा राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको जोशीको भनाइ छ । प्रहरीले घरयासी विवादका बारेमा थप खुलाएको छैन ।
घटनामा संलग्न वसन्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।