रौतहटमा छठको तयारी अन्तिम चरणमा
काठमाडौं। तराइबासी हिन्दूहरुको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ ।
कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व मंगलबार सुरु भएको छ । हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।
छठ पूजाको पहिलो दिन व्रतालुहरु नुहाइधुवाइ शुद्ध भई पूजाका साम्रगी तयार गरिरहेका छन । आजको दिनलाई स्थानीय भाषामा नहाय खाय ९नुहाएर चोखो खाने० भन्ने गरिन्छ । छठ व्रत बस्ने महिलाहरुले चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् ।
दोस्रो दिन अर्थात भोलि बुधबार व्रतालुहरुले खरना मनाउने छन् जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चुलोमा खीर र रोटी पकाई भगवानलाई चढाएर त्यही प्रसाद खाने गर्छन् । त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानी समेत नखाई सूर्य भक्तिमा लाग्छन् ।
महापर्व छठ अन्तर्गत बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिएपछि चार दिनको यो लोकआस्थाको पर्व विधिवत रुपमा सकिने छ ।
छठका कारण रौतहटका प्रमुख तथा ग्रामीण बजारहरुमा समेत चहलपहल बढेको छ । चन्द्रनिगाहापुर, गरुडा, कटहरिया, शिवनगर तथा सदरमुकाम गौरका कपडा, खाद्यान्न तथा फलफूलका पसलहरुमा ग्राहकको भीड देखिन्छ ।
यसैगरी परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम सुरु भएको छ ।