कोशी प्रदेशमा अनुसन्धानका लागि १२ वटा कुकुरको प्रयोग
काठमाडौं । आज कुकुर तिहार । कुकुरको पूजा गरेर यो तिहार मनाइन्छ । कुकुरलाई अपराध अनुसन्धानमा समेत प्रयोग गरिन्छ ।
कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि प्रहरीले पछिल्लो समय १२ वटा कुकुरको प्रयोग गर्दै आएको छ । विभिन्न अपराधको अनुसन्धान गर्न र आरोपी पत्ता लगाउन प्रहरीले कुकुरको प्रयोग गर्ने गरेको हो ।
अपराधीको खोजी, विष्फोटक पदार्थ, लागूऔषध अनुसन्धान र दैविक प्रकोप उद्दारमा कुकुरको प्रयोग हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी केनाइन शाखा धरान र विराटनगर विमानस्थलमा प्रहरीका तालिमप्राप्त कुकुर छन् । ती कुकुर अपराध अनुसन्धानका लागि प्रदेशका सबै ठाउँमा पुग्छन् । अनुसन्धानमा अब्बल पनि छन् ।
नेपालमा प्रहरीले कुकुरको प्रयोग गरेर अनुसन्धान सुरु गरेको २०३२ सालदेखि हो । प्रदेशमा अनुसन्धानमा धरानमा २०४७ सालमा केनाइन शाखा स्थापना भएको थियो । विराटनगर विमानस्थलमा २०७० सालमा केनाइन शाखा स्थापना भएको थियो । केनाइनको मुख्य कार्यालय भने महाराजगञ्जमा छ ।
कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि पिकु, पारु, ज्याक, पिङ्कु, ड्यूक, जिभा, रेन्जर, रक, म्यागी, माया, लियो र सागर नाम गरेका कुकुर छन् । सागर, माया र पिङ्कु लागूऔषधको अनुसन्धानमा प्रयोग हुन्छन् ।
ड्याकु, लियो र पिकुले हत्यालगायतका अपराधमा संलग्न अपराधी पत्ता लगाउन सहयोग गर्छन् । रक र म्यागीले विष्फोटक पदार्थको अनुसन्धान गर्छन् । जिभालाई दैविक प्रकोपको उद्दारमा खटाइन्छ ।
रेन्जर, पारु र ज्याक बिष्पोटक पदार्थ खोजीमा प्रयोग हुन्छन् ।
कोशी प्रदेश केनाइन शाखा प्रमुख प्रहरी नायव निरीक्षक ९सइ० यमबहादुर श्रेष्ठले २०८० साउन ३२ गते झापाको मेचिनगर नगरपालिका– ८ का सुन्दर किसानको हत्या आरोपीलाई पिकुले पत्ता लगाएको बताए ।
प्रहरीसँग रहेका कुकुरलाई अनुसन्धानमा प्रयोगका लागि एक–एक ह्याण्डर खटिएका छन् । ती ह्याण्डरले कुकुरलाई घटनास्थलमा लगेर प्रयोग गर्छन् । २०४७ मा स्थापना भएको कुकुर शाखामा सइको नेतृत्वमा ९ जना प्रहरी कार्यरत छन् । प्रहरीले त्यहाँ राखिएका कुकुरलाई दैनिक तालिम, सरसफाई, खानपान र फिल्डमा लैजाने गर्छन् ।
गम्भीर प्रकृतिको घटनाहरूमा अपराधी पहिचान गर्न ‘ट्र्याकिङ डग’ लिएर ह्ययाण्डर प्रहरी पुग्छन् । मानिसभन्दा ५ गुणा बढी सुध्ने शक्ति भएका तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त गर्न सक्छन् ।
कुकुरलाई ‘डग ह्यान्डलर’ कुकुर हेर्ने प्रहरीले बिहान आधा घण्टा पिटी खेलाउँछन् । खाजापछि विषयगत तालिम दिइन्छ । १० बजे खाना दिइन्छ । कुकुरलाई दैनिक तालिम दिइन्छ । कुकुरलाई जसले तालिम दियो, उसैले मात्र प्रयोग गर्न सक्छ ।
दैनिक तालिमका क्रममा कुकुरहरूलाई लागूऔषध र विस्फोटक पदार्थजस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ । ह्यान्डलरले तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । ट्रयाकिङ विधामा कुकुरलाई दक्ष हुन १ वर्ष लाग्छ । अन्य विधामा भने ६ महिनामा तयार हुन्छन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले अपराध अनुसन्धानमा कुकुरको प्रयोग प्रभावकारी हुँदै गइरहेको बताए । ‘जटिल प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग हुन्छ । कुकुर फरक प्रकारका हुन्छन्,’ उनले भने, ‘समग्रमा ‘ट्रयाकिङ’ डगले हत्याका अभियुक्त पत्ता लगाउँछ । लागूऔषध पत्ता लगाउन पनि कुकुरको प्रयोग हुन्छ ।’
डीआईजी खापुङ कुकुरले अपराधी पत्ता लगाउने भएकाले मान्छेलाई मनोवैज्ञानिक हिसाबले पनि असर गर्ने बताउँछन् । अनुसन्धानमा कुकुरको प्रयोग उपयोगी हुुँदै गइरहेको उनले बताए ।