

मोरङमा कुकर पड्किएर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौं । मोरङको बेलबारीमा प्रेसर कुकर पड्किएर घाइते भएकी महिलाको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर पड्किएर मगर घाइते भएकी थिइन् ।
कुकर विस्फोटमा परेर गम्भीर घाइते भएकी उनको १२ दिनपछि मृत्यु भएको हो । कुकरको सिट्ठीले निधारमा लागेर घाइते भएपछि उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

