

२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुदै दर्जनौं उडान कटौती, आकाशियो भाडा

काठमाडौं । २३ कात्तिकदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ ।
अहिले तीन घण्टामात्र बन्द हुने विमानस्थल एकै पटक ७ घण्टा बन्द गर्नुपर्दा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका दर्जनौं उडान कटौती गरिएका छन् । जसबाट हवाई भाडा ह्वात्तै आकाशिएको छ । यसको प्रत्यक्ष मार यात्रुलाई परेको छ । वायुसेवा कम्पनीले सबैजसो गन्तव्यको भाडा ह्वात्तै बढाएका छन् । आगामी दिनमा भाडा अझ बढ्ने देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको विद्यमान् क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ८ नोभेम्बर २०२४ ९२३ कात्तिक० बाट विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गरेको तालिका सार्वजनिक गरिसकेको छ ।
यसबारे वायुसेवा कम्पनीलाई ६ महिना अगाडि नै जानकारी गराइएको भन्दै प्राधिकरणले नेपाल र सम्बन्धित देशबीच भएका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमता अनुसार निष्पक्ष र समन्यायिक रूपमा वायुसेवा कम्पनीको उडान संख्या व्यवस्थापन गरिएको जनाएको छ ।
अहिले २१ घण्टा दैनिक चलिरहेको विमानस्थल सञ्चालन समय १४ घण्टामा झार्दा साविकको तुलनामा ३० प्रतिशत उडान काठमाडौंमा कटौती भएका छन् । तर, यसको विकल्पमा पोखरा वा भैरहवामा उडान विस्तार भएनन् । बरु, वायुसेवा कम्पनीले भाडा बढाएका छन् । सुमेघ ट्राभल्सका सञ्चालक मेघ केसीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म नेपालमा पर्यटकीय सिजन रहन्छ । यो बेला टिकटको अधिक माग हुने गर्छ । साथै, नेपालीको चाडबाडको मौसम समेत भएकाले आवतजावत धेरै हुन्छ ।
विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारणले टिकटको मूल्य धेरै माथि पुगिसकेको उनले जानकारी दिए । काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा नै ३० हजारसम्म पुगेको उनको बताए । यो रुटमा २ सय प्रतिशतले भाडा बढिसकेको छ।
अधिक मागका कारण विदेशी कम्पनीले ठूलो मात्रामा विदेशी मुद्रा लगिरहेको भन्दै उनले यस्तो समयमा नेपाल एयरलाइन्स कमजोर हुनु अर्को विडम्बना भएको बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीले समेत चर्को मूल्य तिरेर विदेश जानुपर्ने अवस्था रहेको भन्दै नेपाल एयरलाइन्स बलियो बनाउनुको विकल्प नभएको उनको भनाइ छ । ‘त्यसो गर्न सकेको भए नेपालीको पैसा नेपालमै रहने थियो,’ उनले भने ।
प्राधिकरणले ‘पिक’ समयमा विस्तारको योजना बनाएको भन्दै उनले असन्तुष्टि पोखे । ‘नोभेम्बर–डिसेम्बरमा त विस्तारको योजना नै बनाउनु हुने थिएन,’ उनले भने, ‘योजना बनाउँदा पर्याप्त तयारी गरेको देखिएन ।’
अर्कातर्फ, बाँकी रहेको १४ घण्टाको समयमा समेत अधिकतम जहाज उडान गर्न सकिने गरी मिलाएको भए सहज हुने उनको भनाइ छ । यो समस्या प्राधिकरण, मन्त्रालय र सरकार सबैलाई थाहा भए पनि यात्रुको समस्याबारे कोही गम्भीर नरहेको उनको गुनासो छ ।
त्यसैगरी हिमालय ग्लोबल ट्राभल सर्भिसेसकी सञ्चालक संगिता रौनियारले अधिक माग र कम आपूर्तिका कारण टिकटको मूल्य ह्वात्तै बढेको बताइन् । दिल्लीका लागि ११ देखि १३ हजारसम्म पाइने टिकट अहिले सस्तो नै ३० हजार रुपैयाँमाथि पुगेको उनले जानकारी दिइन् ।
दुबईको ३०÷३५ हजारमा पाइरहेको टिकटको मूल्य ७० हजारमाथि पुगिसकेको उनको भनाइ छ । ‘यसले अब यात्रा गर्न निकै समस्या भएको छ,’ रौनियारले भनिन्, ‘हरेक रुटको कम्तीमा २५ प्रतिशतबाट दोब्बरभन्दा बढीले भाडा वृद्धि भएको छ,’ उनले भनिन् ।
भैरहवा र पोखरामा अपेक्षित उडान नजाँदा समेत काठमाडौंमा अधिक चाप परेको हो । यसबीच सरकारले यी दुई विमानस्थलमा जहाज संख्या बढाउन विभिन्न छुट र अफर ल्याएको छ । इन्धनको मूल्य कम गरेको छ । तर, वायुसेवा कम्पनी त्यसतर्फ जान इच्छुक देखिएनन् । यसो हुनुमा यात्रु चाप काठमाडौ केन्द्रित हुनु हो ।
साथमा, विगतदेखि काठमाडौंमा रहेका संरचना सरकार र वायुसेवा कम्पनीले मोफसलका विमानस्थलमा सारिसकेका छैनन् । सरकारले यी विमानस्थल चलाउन आवश्यक एयररुट सहित आधारभूत तहका सर्तसमेत पूरा नगरेका धेरै वायुसेवा कम्पनी वैकल्पिक विमानस्थलमा जान नचाहेको एक वायुसेवा कम्पनीका नेपाल प्रतिनिधिले बताएका छन् ।
‘मल्टिपल इन्ट्री रुट हुँदामात्र जहाज ल्याउन सहज हुने थियो, एक त तल संरचना सेट भइसकेका छैनन्, अर्को यात्रु पाउने ग्यारेन्टी छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा वायुसेवा कम्पनीले घाटामा किन जहाज उडाउँछन् रु’
नागरिक उड्डयन प्राधिकरणले प्रचलित कानुनले तोकेको सीमा परिपालना गरी हवाई भाडा लिन वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणको यो आग्रह स्वदेशी वायुसेवा कम्पनीका हकमा भने लागु हुन सक्छ ।
विदेशी कम्पनीले भने माग र आपूर्तिको सिद्धान्त अनुसार भाडा बढाउन खुला छन् । प्राधिकरणले वायुसेवा कम्पनीको माग अनुसार पर्याप्त उडानको ‘स्पेस’ दिन नसक्दा यसको मार भने यात्रु र पर्यटकले भोग्नुपर्ने भएको छ ।
किन बन्द गर्न लागिएको हो विमानस्थल
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म दैनिक १० घण्टा बन्द गरिने छ । सोही अनुसार विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना ‘नोटिस फर एयरमेन’ ९नोटाम० जारी गरिएको छ ।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको बिन्दुमा नयाँ समानान्तर ट्याक्सी वे निर्माण भइरहेको छ । ट्याक्सी वे र धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ समेत विस्तारको काम हुनेछ ।
यस्तो विस्तारसँगै अहिलेको धावनमार्गको क्षमता २० प्रतिशतले बढ्ने र हवाई ट्राफिक चाप समेत घटाउन सहयोग पुग्ने कार्यालयको भनाइ छ ।

