पाँचथरमा कोशी प्रदेशस्तरीय फोटो प्रदर्शनी
काठमाडौं । पाँचथरको फिदिममा आयोजित कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक फोटो प्रदशर्नी सम्पन्न भएको छ ।
पर्यटन कार्यालय काकडभिट्टाको सहकार्यमा नेपाल फोटो पत्रकार महासंघ पाँचथर शाखाले मंगलबार र बुधवार प्रतियोगिता दुई दिने प्रतियोगिता आयोजना गरेको हो । आयोजकले आह्वान गरेको मितिमा प्राप्त भएका दुई सय ७० फोटोहरुबाट छनौटमा परेका ४८ वटा फोटो प्रदर्शनीमा राखिएको आयोजक फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले बताए ।
कोशी प्रदेशको पर्यटन र संस्कृतिको प्रचार गर्ने प्रतियोगितात्मक फोटो प्रदर्शनीमा फोटो पत्रकार महासंघस‘ग साझेदारी गरिएको पर्यटन कार्यालय काकडभिट्टाका प्रमूख छबिलाल खतिवडाले बताए ।
प्रदर्शनीमा राखिएका ४८ मध्ये फिदिमका सुगम ढुङ्गाना उदयीमान फोटो ग्राफरका रूपमा पुरस्कृत भए । यस्तै, खोटाङका सरोज चाम्लिङले पहिलो स्थान, संखुवसभाका गंगा विष्ट दोस्रो र काठमाण्डौका एपि तोलाङ तेस्रो भए ।
प्रदर्शनीमा छानिएका फोटोका फोटो ग्राफर र पुरस्कार विजेताहरूलाई संविधान सभा सदस्य भीष्मराज आङदेम्वेले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।फिदिमको बीपी पार्कमा आयोजित प्रदर्शनीमा कोशी प्रदेशको पर्यटन, संस्कृति, पर्यावरण, जैविक विविधता र रहनसहनमा आधारित विभिन्न जिल्लाका फोटो ग्राफरहरूले खिचेका फोटो प्रदर्शनीमा राखिएका थिए ।
यहाँ राखिएमध्ये संस्कृति, पर्यटन र पर्यावरण सम्वन्धी तस्बिरले मन लोभ्याएको अवलोकनकर्ताहरूले प्रतिक्रिया दिएका थिए ।