विराटनगरको पुनःस्थापना गृहबाट २ बालिका र १ महिला भागे
काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगरमा सञ्चालन गर्दै आएकोको दीर्घकालीन पुनःस्थापना गृहबाट २ बालिका र १ महिला भागेका छन् ।
विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको गृहबाट बुधबार बिहानका राति उनीहरु भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाका लागि भनेर गृहमा राखिएका मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलामको इलाम नगरपालिकाकी १५ वर्षीया बालिका तथा धनकुटाको धनकुटा नगरपालिका घर भएकी १९ वर्षीया युवती फरार भएका हुन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दीर्घकालीन पुनःस्थापना गृह सञ्चालन गर्दै आएको छ । घरेलु र लैंगिक हिंसाबाट पीडित भइ भय तथा असुरक्षा महसुस गरिरहेका, आफ्नो घर एवं समाजमा रहेर नियमित जीवनयापन गर्न नसकिरहेका र बेचबिखनदेखि बलात्कार पीडितलगायत अनेक हिसाबले जोखिममा परेका महिला एवं बालिकालाई उद्धार गरेर पुनःस्थापना गृहमा राखिँदै आएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले फरार भएकाको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार सुधार गृहबाट आफूखुसी हिँडेकाहरु दिउँसो ४ बजेसम्म परिवारको सम्पर्कमा समेत पुगेका छैनन् । भागेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको र विभिन्न प्रहरी युनिटसँग समन्वय गरेर खोजी तीव्र पारिएको जोशीले बताए ।
जोखिममा परेका महिला तथा बालिकालाई उद्धार गरी गृहमा राखेर पूर्णरूपमा सुरक्षित महसुस गराइ आवश्यक मनोसामाजिक परामर्श, कानुनी सहायता तथा जीविकोपार्जन सिपका माध्यमबाट समाजमा पुनः भयरहित ढंगले पुनःस्थापना गर्ने सरकारको उद्देश्य छ ।
पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईले भागेका तीनै जना बलात्कारबाट पीडित भएकाहरु रहेको बताइन् । पुनःस्थापना गृहमा अहिले २५ जनालाई राखिएको र अधिकांश बालिकाहरु रहेको जानकारी उनले दिइन् । ‘केही चैं २१–२२ वर्षका पनि छन् । अधिकांश बालिकाहरु छन्,’ उनले भनिन् । भट्टराईका अनुसार गृहमा राखिएकाहरुका ८ जना सन्तानलाई समेत पुनःस्थापना गृहमा थिए ।गृहमा ३ जना महिला सुरक्षा गार्ड छन् ।
सुरक्षा गार्डलाई छलेर रातको समयमा तीनै जना भागेको र प्रहरीसँग समन्वय गरेर खोजतलास गर्ने काम भइरहेको भट्टराईले बताइन् । भागेकाहरुको अवस्था पत्ता लगाउन समस्या भइरहेको उनको भनाइ छ ।