युद्धग्रस्त लेबनानमा श्रम स्वीकृति बन्द गर्न छलफल
काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन ।
लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन ।वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको बताएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्री श्रम स्वीकृति रोक्नेबारे छलफल भइरहेको बताउँछन् ।
परराष्ट्र मन्त्रालयले चासोका साथ त्यहााको अवस्थालाई हेरिरहेको छ,’ उनले भने,‘ परराष्ट्रसंग हामीले जानकारी लिइरहेका छौं, श्रम स्वीकृति रोक्ने कि भने विषयमा छलफल हुँदैछ ।’
अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरु असुरक्षित रहेको निष्कर्ष निकालिसकेको छैन। लेबनानी मन्त्रिपरिषको विपद् जोखिम व्यवस्थापन इकाइले मंगलबार जारी गरेको प्रतिवेदन अनुसार लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या २ हजार ५३० पुगेको छ, आक्रमणहरुमा ११ हजार ८०३ जना घाइते भएका छन् ।
इजरायलले २३ सप्टेमबरदेखि लेबनानमा सघन हवाई काक्रमण थालेको थियो । अहिले लेबनानको दक्षिणी र पूर्वी क्षेत्रहरु साथै माउन्ट लेबनान र बेरुतको दक्षिणी उपनगरहरुमा आक्रमण र गोलाबारीलाई तीव्र पारेको छ । लेबनानमा धेरैजसो महिला घरेलु श्रमिकहरु छन् । धेरैजसो बेरुत लगायतका शहरमा काम गरिरहेका छन् । सरकारले युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ ।
इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले गत १५ असोजमै सूचना जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो । हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । तर, पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना आवश्यक रहेको ठहर परराष्ट्र मन्त्रालयको छ ।
कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न इजिप्टको कायरोस्थित नेपाली राजदूतावास, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ ।
कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी मन्त्रालयले परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।