

करुणा फाउण्डेशनद्धरा कोशी सरकारको पुनः निर्माण कोषमा १० लाख सहयोग

काठमाडौं । प्रदेश सरकारको मर्मत सम्भार तथा पुनः निर्माण कोषमा करुणा फाउन्डेसनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुन निर्माण गर्न स्थापना गरेको कोषमा फाउन्डेसनले सहयोग गरेको हो । आज एक कार्यक्रमका बिच करुणा फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रूपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरे ।
बाढी, पहिरो तथा डुबानले भएको क्षतिको दू्र्तगतिमा पुनः निर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउन्डेसनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मत सम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिए । मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे ।
यस कोष प्रदेशको पुनर्निर्माणमा महत्त्वपूर्ण हुने कार्कीले बताए । करुणा फाउन्डेसनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना सम्बन्धी काम गर्दै आएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी थिए ।

