कोशीमा कांग्रेसको भागको मन्त्रालय कांग्रेसलाई नै हस्तान्तरण
काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई दिएका छन् ।
कांग्रेस–एमाले गठबन्धन सरकार गठन हुँदा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो । कांग्रेसभित्र आन्तरिक भागबण्डामा स्वास्थ्य मन्त्रालय डा। शेखर कोइराला समूहले पाएको थियो । तर भागबण्डामा असन्तुष्टि जनाउँदै कोइराला समूहले नाम नपठाएका कारण २८ भदौमा मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य मन्त्रालय खाली नै रह्यो ।
त्यतिबेला यो मन्त्रालय मुख्यमन्त्री कार्कीले आफूसँगै राखेका थिए । तर डेढ महिनासम्म कांग्रेसबाट कसैको नाम नआएपछि कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
बिहीबार मुख्मन्त्री कार्कीले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखलाई पठाएका थिए । कार्कीले दशैंअघि कांग्रेस संसदीय दललाई खाली रहेको मन्त्रालयका लागि मन्त्री पठाउन भनेका थिए । तर कांग्रेसले नाम दिन सकेन ।
‘अहिले हाम्रो मान्छे आउदैनन्, दिइराख्नुहोस् भन्ने कुरा आयो’, मुख्यमन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘उहाँहरुको सल्लाहमै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो, अर्को मन्त्री नआउञ्जेल उहाँले हेर्नुहुन्छ ।’