

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

काठमाडौं । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ। पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ।
वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोसी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन्। धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन्। यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो।’
सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ। ‘पूर्वमा कञ्चनगङ्घादेखि पश्चिममा लामटाङ हिमाल ९गोसाईकुण्ड० सम्मको ठूलो भू–भागमा फैलिएको सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो। तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन्। त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ।
सुनकोसी, दूधकोसी, इन्द्रावती, तामाकोसी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा बालुवा थुप्रिदै गएपछि नदीको गहिराई कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ।
सुनसरीको कोसी गाउँपालिका–६ का देवचन्द्र झाले कोसी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताए।
नदीको भूइँसतह माथि उठ्दै गएपछि नदीको बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोसी क्षेत्रका जानकारहरुको भनाइ छ।
बराहक्षेत्र–९ का भिम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउ दै आएका छन्।
‘पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ। नदीले वर्षाका चार महिना ९जेठ, असार, साउन, भदौ० आफ्नो रौद्र रूप देखाउँदै आएको छ। बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हँुदै जादा यहाँ बालुवाका टापु बनेका छन्। पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन ।
सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ।
नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताए।
सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताए। नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको छ।

