बागलुङको माझी बस्तीमा धारा बनेको तीन वर्षमा पनि पानी आएन
काठमाडौं । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो ।
तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।
आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीयहरुको गुुनासो छ ।
विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।
सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको हो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् ।
माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको समेत थिए ।
स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो । उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।