भोजपुर जिल्लाकै अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा
काठमडौं । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको खार्तम्छा छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ ।
एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछी आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।
यस स्थानमा भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहर पुग्ने थालेका छन् । थप प्रचारप्रचार हुनसकेन यसलाई पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ ।
झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ ।
छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्याधी निको हुने जनविश्वास रहदै आएको छ । झरना प्राकृतिकरूपमा निकै सुन्दर छ । यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रुपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक रहेको देखिन्छ ।
झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने छ । प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको स्थानीयको भनाइ छ ।
छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।