बडा दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो।
साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिले जनाएको छ। यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको अन्तिम दिन हो।