सरकारी कार्यालय आजदेखि पुन:रुपमा सञ्चालन
काठमाडौं । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि पुन:रुपमा सञ्चालन भएका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो ।
आज दशैंपछिको त्रयोदशी भएकोले बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भएपनि पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ ।
यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको हुनाले कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ । दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेको गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम बढि रहेकोले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको हो ।
आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।