टेम्केमैयुङ गाउँपालिकाको किराँतेश्वर ढुङ्गे बगैँचा एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
- दिबस श्रेष्ठ
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका मा रहेको पर्यटकीयस्थल किराँतेश्वर ढुङ्गे बगैँचाको संरक्षण गर्न थालिएको छ ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण थालिएको छ । किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवधारणाअनुसार काम भइरहेको छ । त्यसनिम्ति विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेर काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको वडाले जनाएको छ ।
पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका छ । विसं १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन समेत निर्माण गरिएको छ ।
पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको तथा पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य रहेको छ ।
किरातेश्वर ढुङ्गेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेका छन् । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा समेत टेवा पुग्ने छ। पाँचवटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने धार्मिक विश्वास समेत रहदै आएको छ ।