“बेहुली फ्रम मेघौली “को प्रिमियरमा तारिफको वर्षा
काठमाडौं । असोज १७ गते दशैंको घटस्थापनाको अवसर पारेर बिहीबारबाट सिनेमा ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरुवात गरेको छ ।
सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । एकै हप्तामा २३ सिनेमा प्रदर्शन भैरहेको बेला यो सिनेमाले सोलो रिलिजको दुर्लभ अवसर पाएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको सिनेमा नेपाली सिनेमाको इतिहासमै सर्वाधिक ३४० शो पाएको छ । सोमबारबाट देशभरका मल्टीप्लेक्सहरुले खुला गरेको ‘एड्भान्स बुकिङ’मा सिनेमाप्रति राम्रो क्रेज देखिएको छ ।
प्रिमियर शोमा पनि राम्रो प्रतिक्रिया पाएकाले सिनेमाले दर्शकबाट ‘वर्ड अफ माउथ’ उत्कृष्ट पाउने अपेक्षा निर्माण टिमको रहेको छ । सिनेमामा प्रचार शैली, बलियो स्टारकास्ट र छड्के सलाम गीतका कारण सिनेमा राम्रो बनेको थियो ।
सिनेमाले विवाहको कथालाई जोडेर भनेको छ । ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई सिनेमाले हास्य शैलीमा देखाएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा सिनेमाको प्रिमियर गरिएको थियो ।
सिनेमाको प्रिमियरमा निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, अभिनेताहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, अभिनेत्रीहरु प्रियंका कार्की, आना शर्मा लगायतको पनि उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी धेरै सिनेमाकर्मीले सिनेमाको प्रशंसा गरेका छन् ।
प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ले राम्रो प्रतिक्रिया पाएको छ । स्वस्तिमाको अभिनय र ‘क्लाइमेक्स’को विशेष प्रशंसा समेत रहेको छ । ‘छोरी भनेको बुबाआमाको बोझ होइन भनेर सिनेमाले राम्रो सन्देश दिन खोजेको छ । छोरीको बिहे गरिहाल्नुपर्छ भन्ने पुरानो सोचलाई यस ‘बेहुली फ्रम मेघौली’ले चिर्न खोजेको छ’।
सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।