बाढीपहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय
काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सोमबार दिउँसोमात्रै अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राखेका थिए।
उक्त बैठकले प्राकृतिक विपदका कारण मृत्यु हुनेको परिवारलाई सो राहत रकम दिने निर्णय लिएको हो।साथै सरकारले विपद्बाट मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।