गुल्मी तम्घासमा झण्डै ४० वर्षपछि पहिलो पटक भैरव नाच प्रर्दशनी
काठमाडौँ । झण्डै ४० वर्षपछि गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक भैरव नाच प्रर्दशन गरिएको छ ।
तम्घास लाखे नाच संरक्षण समिति गुल्मीको आयोजनामा छिमेकी जिल्ला अर्घाखाँचीको भैरव नाँच सदरमुकाम तम्घास ल्याएर प्रर्दशन गरिएको हो । लात्तेबाज भैरव समाज भूमिकास्थान नगरपालिका वडा नम्बर–८ अर्घाखाँचीले प्रर्दशन गर्ने भैरव नाच यहाँका समाजसेवि हरिकुमार श्रेष्ठको नेतृत्वमा चिदिचौर खेल मैदान तम्घास ल्याई आइतबार साँझ साढे सात बजे देखि भव्य प्रर्दशन गरिएको थियो ।
झण्डै ४० वर्षपछि यस जिल्लामा भित्र्याइएको भैरव नाँचलाई हेर्नका लागि दशौं हजार नागरिकहरुले चिदिचौरमा खचाखच भिड देखिन्थ्यो । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाँचले काठमाण्डौंमा निकालिने इन्द्रजात्राको झल्को दिने गरी तम्घासमा नागरिकतहबाट भएको उपस्थिति र उत्साहले देखाउथ्यो । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाँच पनि हो । भैरव नाच अर्घाखाँचीमा मात्र होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।
यस जिल्लास्थित रहेका नेवा खल, लाखे संरक्षण समितिका संयोजक दुर्गाप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, समाजसेवि भुवनप्रसाद श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ लगायत सबैको सहयोगले गुल्मी जिल्लामा भैरव नाच प्रर्दशन गर्न सकिएको संयोजक हरिकुमार श्रेष्ठले बताउनुभयो । हाम्रो पुर्खा हाम्रो पौरख, नेपाली कला, संस्कृति र सम्पदा राष्ट्रको गौरव भन्ने मूल नाराका साथ भैरव नाच प्रर्दशन गरिएको श्रेष्ठले बताउनुभयो । मौलिकता र पुरानो संस्कृतिलाई जगर्ने गर्न सके विदेशी पर्यटकहरुलाई पनि यहाँ भित्राउँन सकिन्छ ।
मौलिक, कला, संस्कृति महान् छन् । यसको संरक्षणका लागि युवापुस्ताहरुलाई यसतर्फ आकर्षित गर्दै हस्तान्तरण समेत गर्नुपर्ने उहाँको भनाई छ । ‘बर्खायाम सकिएपछि हिउँद सुरु हुन्छ । हामीले लगाएका धानका बालीहरु, मकै खेतीहरु, पाकेर अन्नबाली घरमा भित्यान्छ । त्यतिबेला सहकालको देवता इन्द्रको प्रतिकका रुपमा भैरव जात्रालाई मनाउने परम्परा छ ।’–श्रेष्ठले भन्नुभयो । सहकालका देवताको पुजा गरे व्यापार, व्यवसाय बढ्ने, बिग्रेका काम सप्रने विश्वासका आधारमा नेवार समुदायले भैरव नाच देखाउने र मनाउँदै आएका श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार भैरव नाच सात पटक सम्म नाचिन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त भैरव सहायक हुने र साथमा डंकिनी पनि नाच्ने श्रेष्ठले बताउनुभयो । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको उहाँले बताउनुभयो ।
तीन वटै भैरव आफ्नो भूमिका अनुसारका रङमा श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति अर्घाखाँचीका संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो । सात वटै ताल पटकको लय फरक–फरक हुन्छ । नाचलाई रोचक बनाउन लाठी नाच टाकुनडोली, घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिने प्रचलन रहेको उहाँले बताउनुभयो ।