

नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा,२ करोड १ लाख बढी भ्यूज

काठमाडौँ । नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।
सम्भवतः यो युट्युबको ग्लोबल ट्रेन्डिङमा पहिलो नेपाली गीत बनेको छ । यो गीत ८ महिनाअघि .सार्वजनिक भएको हो । हामीले यो समाचार शनिबार तयार पार्दासम्म यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा रहेको छ ।
गीतलाई अहिलेसम्म २ करोड १ लाख ७१ हजार ४९ पटक हेरिएको छ । निश्चल दवाडीको शब्द तथा संगीत रहेको यस गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर रहेको छ ।
युट्युबले ट्रेन्डिङमा परेका यी १ सय गीतलाई पछिल्लो हप्ता प्लाटफर्ममा सबै भन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ । यो गीत गत जनवरी १८ तारिखमा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको थियो ।
गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो । गीत रिलिज भएको केही महिनासम्म यसले युट्युबमा राम्रै भ्यूज पायो । सरकारले टिकटकमा प्रतिबन्ध लगाएको समयमा सार्वजनिक भएकाले अपेक्षा अनुसार गीत प्रवद्र्धन भने हुन सकेको थिएन ।
गत हप्ता सरकारले टिकटकलाई सर्तसहित फुकुवा गरेपछि भने यतिबेला प्लाटफर्ममा कश्मीरे पछ्यौरी गीत भाइरल बनिरहेको छ ।

