

कांग्रेस–एमालेले मुख्य निशाना नै रास्वपालाई बनाए : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य निशाना नै आफू र आफ्नो पार्टी रहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले पछिल्लो पटक प्रधानमन्त्री ओली र कांग्रेसका नेताहरूले दिएको अभिव्यक्तिबाट उक्त विषय प्रष्ट भएको जिकिर गरे।
‘संसद्मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, सरकारमा रहेका दुई ठूला दलको तार्गेट नयाँ बनेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि छ,’ लामिछानेले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति, आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ, एउटा एउटा आरोप लगाउनुपर्छ। त्यसपछि मात्रै हाम्रो जोगिन्छ भन्ने स्पष्ट हुन आउँछ।’
सभापति लामिछानेले अब देशका लागि रास्वपा नै विकलप भएको दाबी समेत गरे।
‘अब मुलुकका लागि आवश्यक रहेको रास्वपा नै यो देशको विकल्प हो भन्ने कुरा संसद्को पछिल्लो गतिविधिले स्पष्ट पार्छ,’ उनले भने।

