वामदेवलाई ओलीको जवाफ : एकताको भावना सकारात्मक छ, यो छलफल गर्ने थलो होइन
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रश्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।
सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी भएका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटो भन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दबाब दिन एमाले नेता, कार्यकर्तालाई दबाब दिन आग्रह गरेका थिए।
ओलीले त्यसको जवाफ दिनेक्रममा सो प्रतिक्रिया दिएका हुन्। उनले सो विषयमा छलफल गर्नका लागि उपयुक्त थलो नभएकाले त्यस विषयमा प्रवेश नगर्ने उल्लेख गर्दै पछि अर्को समयमा छलफल गर्ने पनि बताए। अध्यक्ष ओलीले गौतमको भावनालाई अघि बढाउने बताए।
उनले भने, ‘वामदेव कमरेडले कतिपय कुराहरु उठाउनुभएको छ। मैले छलफल गर्ने यो थलो होइन। त्यसकारण म त्यसमा प्रवेश गर्दिन। पछि हामी अर्को समयमा छलफल गर्नसक्छौ। म यति भन्न सक्छु–वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ एकताको भावना। त्यो सकारात्मक भावना हो। यस भावनालाई अगाडि बढाऔं।’
उनले थपे, ‘उहाँ राष्ट्रिय एकता महाअभियानका अध्यक्ष हुनुहुन्छ। यो महाअभियान सफल होस्। मेरो शुभकामना पनि छ उहाँलाई।’
त्यस अवसरमा अध्यक्ष ओलीले गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेको उल्लेख गर्दै सो अभियानको पनि सफलताको कामना गरे।